धरणीधर र कृष्णप्रसादलाई उनकै थलोमा सम्झँदा

धरणीधर र कृष्णप्रसादलाई उनकै थलोमा सम्झँदा

-डा. तुलसी भट्टराई 
तीन दिनअघि जीवनचन्द्र कोइरालाले दुम्जाको एउटा कार्यक्रममा सहभागी हुन जानुपर्ने कुरा फोनबाट भनेका थिए । त्यसै अनुरूप २०६३ माघ २४ गते बिहान सात बजे नयाँबानेश्वरमा पुगेँ ।
धरणीधर जयन्ती मनाउन दुम्जा पुग्ने कुराले मलाई तानेको हो । ‘दुम्जा’ भन्नेबित्तिकै कोइरालाहरूको मूलथलो । दामोदरका सन्तानहरूको मूल केन्द्र । नेपालको राजनीतिक क्षेत्र र वृत्तमा चर्चित कोइरालाहरूको पुख्र्यांैली थलो दुम्जा । मलाई धेरै अघिदेखि त्यो थलो पुग्ने इच्छा थियो ।
बनेपाको बसमा चढियो । प्राध्यापक केदार न्यौपाने, डा. कुलप्रसाद कोइराला, ज्ञानुवाकर पौडेल, दीपक श्रेष्ठसमेत भएर बनेपा पुग्यौं । केहीबेर पर्खिएर माइक्रोसेवाबाट धुलिखेलको बीपीमार्ग  थालनी चोक पुगियो । रमणीय धुलिखेल वरपर आँखा दौडाउँदै काभ्रे भन्ज्याङबाट पल्लापटि लागियो । पात्लेडाँडास्थित हनुमान उच्च माविको सुन्दर भवन हेरेपछि केही बेरमा पाँचखालको विशालफाँट देखियो । केदार सरले नेपालको भौगोलिक सुन्दरताबारे निकै राम्रो बयान गर्दैथिए ।
‘भकुण्डेबेसी’ लेखिएको बोर्ड देखेर म झसंग भएँ । केही समयअघि यो ठाउँ राष्ट्रिय– अन्तर्राष्ट्रिय चर्चामा आएको थियो । यस ठाउँमा ठूलै नरसंहार भएको हो । द्वन्द्वको त्रासदी पीडाबाट मुक्त हुन लागेको ‘भकुण्डेबेसी’को त्यस दिनको कोलाहलमय रात दिनहरू स्मरण गर्दै अघि बढेँ । प्रकृतिको अनुपम सौन्दर्य वरिपरिका होचा थुम्के हरिया डाँडाका बीचको विशाल फाँट । बजार– विकास हुँदै गएको ठाउँ ।
दाप्चा पुल पुगेर दाप्चा डाँडो–भन्ज्याङ्तिर हेरेँ । उहिल्यै अर्थात् वि.सं. १९८० मा मेरा हजुरबा पं शिवनिधि ताप्लेजुङदेखि पदयात्रा गर्दै आउँदा दाप्चामा दुई दिन बस्नुपरेको कथा उहाँबाटै सुनेको थिएँ । त्यसबेला पनि हजुरबाहरूलाई सुरक्षा निकायले रोकेको थियो । खाजा सामल सकिएका कारण उसिनेको आलु खाएर दाप्चामा दुई दिन बिताएको रोचक सन्दर्भ उहाँबाट सुनेको हुँ ।
केहीबेरमै रोसी–दाप्चा दोभान पुगेर रोसी किनारैकिनार नार्के दाउन्नेहुँदै मंगलटार पुगियो । यो ठाउँ पनि निकै फाँटिलो र रसिलो रहेछ । प्राय ः रोसी किनारका गाउँफाँट बेसी उर्वरा रहेछन् जस्तो लाग्यो । 
“सोल्टिनी कान्छी क्या सारो राम्री सिंगापुरे लुगी र चोलीमा,
अल्लारे ठिटो भुतुक्कै भयो कान्छीको मीठो मुस्कान र बोलीमा”
क्यासेट घन्किरहेको छ । माइक्रोको कुदाइसँगै गीतको झंकार सुनिँदैछ ।
महाभारत शृंखलाबाट झरेका खहरेले धेरै ठाउँका फाँटिला र उर्वरा ब्याँसी बगर बनाएको देखियो । वनजंगल मासिँदा यस्तो भएको हो भनेर एकछिन चर्चा ग¥यौँ र मान्छेले आफैँ आफ्नो विनाश गर्दैछ कसले रोक्ने ? भूक्षय नेपालको महामारी भएर बढेको छ ।
प्राय ः नदी, खोला, खोल्साहरू मानिस– पशुपंक्षीलगायत सम्पूर्ण उद्भिज नै मानवका निम्ति वरदान हुन् । तर भूक्षयका कारण बाढीपहिरोका रुपमा चाहिँ अभिशाप बन्ने गर्छन् । ‘वरदान’ पनि कहिलेकाहीँ अभिशाप बनेका पूरा कथा थुप्रै छन् । अरूको टाउकामा हात राखेर भस्म पार्ने वरदान पाएको भस्मासुर आफ्नै टाउकोमा हात राख्ता भष्म भएको कथा छ । आजका मानिसले क्षणिक लाभ र सुखका लागि भविष्यको पुस्तासमेत समाप्त पार्दैछन् ।
“दाजुलाई थाहा छ— यस रोसी खोलाको कथा ।” कुलप्रसादजीले रोसी वृत्तान्त सुनाउन थाले ।
उहिल्यै फुलचोकी चुचुरोमा पहिलोपल्ट ठूलो पानीको मूल फुटेछ । वरपर कतै, पानी थिएन । अनि पाटनका राजा र पनौतीका राजाका बीच त्यो पानी आफ्नोतिर लैजाने होडबाजीमा झगडा भएछ । दुवै राजा तरबार झिकेर आक्रमण गर्न लागेका बेला फूलचोकी माई प्रकट भएर भनिछन्— तिमीहरू झगडा नगर । बरु मलाई तिमी दुईमध्ये सुन र चाँदी मिसाई बनाएको माला जसले पहिले ल्याएर चढाउँछ, म त्यतैतिर यो मूल बगाइदिनेछु । माईको यो भनाइ सुनेर अनि दुवै राजा फर्किएछन् ।
पनौतीका राजाले तुरुन्तै तोरीको र मूलाको फूल मिसाएर माला तयार पारी देवीलाई चढाउन लगेछन् । देवी प्रसन्न भएर पनौतीतिर पानी बगाइदिइन् । पाटनका राजाले चाहिँ सुन र चाँदीको कलात्मक माला बनाउन थाल्दा ढिलो गरेर अर्को दिनमात्र पुगेछन् । देवीले भनिछन्— तिमीले माला ल्याउन ढिलो ग¥यौं पनौतीका राजालो माला चढाइसके । त्यसकारण पानी त पनौतीतिर बगिसक्यो । त्यसपछि राजाले रिसाएर देवीलाई समेत गाली गरेछन् ।
राजाले रिस अर्थात् ‘रोष’ प्रकट गरेका कारण त्यस बगेको पानीको नाम ‘रोषमती’ भयो । पछि अपभ्रंश हुँदै ‘रोसी’  नाम रुढ हुन पुगेछ । अनि साँच्चै नै रोसी– रोषमती नै हो । यसले कति प्राणी, मानिस, घरखेत बगाएको होला ? त्यसको कुनै लेखाजोखा छैन । कस्तो लाग्यो त दाइलाई यस रोसीको कथा ।” कथा बडो रोचक छ, भनेर केदार सर र दीपक भाइले समेत एकैचोटी सहमति जनाएका थियौँ ।
हामीहरू बाह्र बजे ‘बालुवा’ भन्ने गाउँमा पुग्यौं । कुशेश्वर गा.वि.स.को दुम्जा क्षेत्रमा पर्ने एउटा सानो गाउँ । दीपक श्रेष्ठले आफ्नो घर अर्थात् पिता रामकृष्ण श्रेष्ठको घर पु¥याए । भोजनपछि केही बेर आराम गरेर कार्यक्रम स्थल— धरणीधर स्मृति पुस्तकालय (देवीस्थान नि.मा.विद्यालय) को प्रागंणमा पुग्यौं । साढे एक बजे कार्यक्रम सुरु भयो । दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरू डा. तुलसी भट्टराई, डा. कुलप्रसाद कोइराला, प्रा. केदार न्यौपाने र ज्ञानुवाकर पौडेल थिए ।
घननाथ नेपालको मन्तव्यसँगै छयासी वर्षे उदयानन्द कोइरालादेखि बाह्रवर्षे कुमारी दोङ सम्मका करीव दुई दर्जन कविले कविता सुनाएका थिए । लीलाविक्रम रायमाझी र रूपक श्रेष्ठको कविता निकै चाखलाग्दा थिए । त्यस्तै नारायण दुम्जाली, विमल पौडेल, शान्ता थापालगायत सहभागी कवि थिए ।
नेपाल हाम्रो धन सम्पदा हो नेपाल हाम्रो वनसम्पदा हो,
नेपाल हाम्रो बुझ मानदा हो नेपाल हाम्रो बुझ ज्ञानदा हो ।”
जनजागरण एवं जनचेतनाका प्रतीक सुधारवादी कवि धरणीधरको जन्म क्षेत्र र पुख्र्यौली थलोमा पुगेर उनको ११४ औं जन्मजयन्ती मनाउँदै थियौँ ।
वि.सं. १९४९ माघ २४ का दिन माता पुण्यमाया र पिता अवन्तीनाथ कोइरालाका पुत्रका रूपमा जन्मिएका धरणीधर आफ्ना हजुरबा पूर्णानन्दको संरक्षणमा हुर्किएको कुरा जानिफकारहरू बताउँछन् । न्वारानको नाम धनपति र घरको बोलाउने नाम भरत भए पनि उनी पछि गएर धरणीधर नामले प्रख्यात बने ।
उनले बनारसमा अध्ययन गरेका र गान्धीको प्रभाव ग्रहण गरेका कारण नेपालभित्र जागिर नपाएर दार्जिलिङतर्फ जानुप¥यो । दार्जिलिङमा करिव तीन दशक शैक्षिक सेवामा बिताएका धरणीधरले २००७ को क्रान्तिको पृष्ठभूमि तयार पार्न ठूलो योगदान दिएका थिए । “नेपाल, तिम्रो मुहुडा हँसिलो देखेर पक्कै अब मर्न आँटेँ ।”
धर्म, संस्कृति र चरित्र निर्माणका साथै आध्यात्मिक चिन्तन र विचारका माध्यमबाट जनतालाई जगाउनु उनका रचनाको लक्ष्य देखिन्छ । मानवता, स्वतन्त्रता, मानवीय मूल्य र आदर्शको रक्षाका निम्ति उनले काम गरेका थिए । त्यस कार्यक्रममा समाज सुधारक कवि धरणीधरका बारेमा निकै धेरै चर्चाहरू भएका थिए ।
“लुछाचुँडीले अघि बढ्न दिन्न काटो छिनोले अब केही हुन्न ।” युगीन कविताका स्रष्टा धरणीधरको २०३६ माघ २९ का दिन मृत्यु भएको थियो ।
यिनै धरणीधरको सम्झना गर्दै थियौँ यस क्षेत्रमा । प्रा. केदार न्यौपाने, डा. तुलसी भट्टराई र र डा. कुलप्रसादले उनको व्यक्तित्वबारे धेरै कुरा प्रकाश पारेका थिए । ज्ञानुवाकरका गजल सुनेर श्रोतादीर्घा निकै आनन्द लिइरहेको थियो । चार बजेतिर कार्यक्रम सकेर हामीहरू नेपालथोकहुँदै कुशेश्वर महादेव दर्शन पर्न पुग्यौं
। बेलुकी साढे सात बजेतिर मात्र फर्किएर उनै दीपक श्रेष्ठकी आमाको न्यानो आत्मीयतासँग भोजन ग¥यौँ । बहिनी नुनुले सोधीसोधी भोजन परिकार थपेर कृतार्थ बनाएकी थिइन् । 
नेपालको प्रजातान्त्रिक आन्दोलनका बीज पुरुष कृष्णप्रसाद कोइराला अर्थात् पिताजी कृष्णप्रसाद र जनजागरणका अग्रणी कवि धरणीधरको— जन्मस्थल ‘दुम्जा’  गाउँ पुग्ने अवसर प्राप्त भयो यसपटक । जीवनचन्द्र कोइरालाको प्रेरणा र दीपक श्रेष्ठको अगुवाइमा पुग्न सकियो ।
अर्को दिन बिहानै दुम्जा गाउँ पुग्यौँ । कुशेश्वर उच्च माविको भेटघाटपछि हामीहरू कृष्णप्रसादको जन्मस्थलमा पुग्यौँ । नेपालका— राममोहन राय मानिने कृष्णप्रसाद कोइरालाको जन्मचाहिँ वर्तमान सिन्धुली जिल्लाको दुम्जा भन्ने गाउँमा वि.सं. १९३६ मा भएको थियो । उनी १९५२ तिर विराटनगरतर्फ लागेर त्यहीँ आफ्नो कर्मथलो थिए । 
बी.पी कोइरालाले उल्लेख गरेअनुसार लमजुङ कोइराला फाँटका कुनै एकजना ब्राह्मण मकवानपुरका सेन राजाकहाँ पुगेर जागिरे भएका थिए । तिनैका सन्तान दामोदर भन्नेले काजी दर्जा पाए । पछि यिनैले राजा राघवसेनबाट दुम्जा क्षेत्र बिर्ता पाएर त्यसतर्फ लागे ।
दामोदरका वंशका— आठौँ पुस्तामा कृष्णप्रसाद जन्मिए । सातौँ पुस्ताका नन्दिकेश्वर र राज्यलक्ष्मीका कान्छा छोराका रुपमा जन्मिएका कृष्णप्रसादका तीन भाइ छोराहरू मातृका, विश्वेश्वर र गिरिजा नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास निर्माणसँगै प्रधानमन्त्रीसमेत भए ।
नेपाली साहित्यकारमध्ये– युगउद्बोधक र चेतनाजागरणका कवि धरणीधर पनि दामोदरकै सन्तान थिए । त्यस्तै दुम्जाका कोइरालाहरू नेपालका कहलाएका परिवारभित्र पर्दछन् । आज पनि कोइराला थरको छुट्टै पहिचान बनेको छ ।
त्यसो त राजा राघवसेनबाटै सिन्धुलीको ‘हैबार’ भन्ने क्षेत्र बिर्ता पाएको अर्को कोइराला वंशपरम्परा पनि धेरै फस्टाएको छ । हैवारे कोइरालाहरू पण्डित्य र ज्योतिष परम्परामा अग्रणी रहँदैआएको कुरा हैवारे कोइराला जीवनचन्द्रबाट थाहा पाइएको हो । त्यहीँका कुलचन्द्र कोइराला नेपालका– पुरातात्विक सांस्कृतिक, साहित्यिक एवं राजनीतिक क्षेत्रका विशिष्ट अध्येता एवं स्रष्टा हुन् । उनका दुई दर्जनभन्दा बढी कृतिहरू छन् ।
दुम्जाली कोइरालाहरू भने प्रारम्भदेखि नै जागिर र राजनीतिक क्षेत्रमा लाग्दैआएका कारण आज पनि प्राय ः सबै यसै क्षेत्रमा संलग्न छन् भन्ने कुरा बीपीको आत्मवृत्तान्तबाट थाहा लागेको हो । 
हुन पनि दुम्जाका कोइरालाहरू प्राय ः राजनीति र कूटनीतिक क्षेत्रमा चर्चित हुँदै आएका छन् । मोहन कोइराला र शंकर कोइराला जस्ता ठूला कवि, लेखक, स्रष्टा पनि भएका छन् । सरोज कोइरालाको पुख्र्यौली पनि त्यहीँ हो । धरणीधरजस्ता ठूला कविको घर अझै सुरक्षित रहेछ । विपिन कोइरालाको घर पनि छँदैछ ।
बीपीमार्ग धुलिखेल चोकबाट छुटिन्छ ।
जुन मार्ग– काभ्रेभन्ज्याङ्, भकुण्डे नेपालथोक, खुर्कोट, रातामाटा, खनियाखर्क, सिन्धुली गढी हुँदै बर्दिवासमा पुगेर पूर्वपश्चिम राजमार्गसम्म जोडिएको छ । यो मार्ग त्यतिबेला नेपाल थोकसम्म मात्र निर्माण पुरा भएको थियो । योजना अधुरै रहेकोले । पूरा हुने आसमा त्यस क्षेत्रका बासिन्दा पर्खिरहेका थिए । पिताजीको दुम्जा गाउँ बाटो, बिजुली र सञ्चारबाट त्यतिबेलासम्म पनि मुक्त थियो । 
यो मार्ग २०१६ मा नै प्रस्तावित भएर निर्माण थालिएको थियो । पूर्व जोड्ने सबैभन्दा छोटो बाटो । दाउन्ने पारिपट्टिसम्म जीप चल्ने भइसकेको थियो । आज पनि पुरानो बाटोको चिन्ह् छँदैछ ।
“बीपीले आफ्नो पुख्र्यौली जोड्ने बाटो खनाउन लगाएको हो भनेर त्यसबेला हल्ला पनि चलाएका थिए । यो बाटो बनायो भने कांग्रेस बढ्छ । कांग्रेसी बाटो बन्न दिनुहुँदैन भनेर यतैतिरका केही भारदारले विरोध गरेका कारण पनि रोकियो । केही वर्षअघिसम्म एउटा डोजरका पार्टपुर्जाहरू छरपस्ट यही भित्तामा लडेको भेटिन्थ्यो ।”
कृष्णप्रसादको आदर्श, मूल्य र मान्यता भनेकै प्रजातन्त्र हो । उनका आत्माको पुकार, यस माटोको पुकार यही नै हो । करीव नौ दशकअघि पिताजीले चन्द्र शमशेरलाई पठाएका चिथ्रा भोटा, घेरामात्रको टोपी र लहरे लगौटी–को सन्देशले अझै पूर्णता पाएको छैन । अर्थात् नेपाली जनजीवनबाट दुःख दारिद्र्य हट्न सकेको छैन ।
उत्साह, साहस, संघर्ष, धैर्य र क्रियाशीलताका पर्याय कृष्णप्रसादमा उद्बोधन र चेतनाजागरण मुख्य अभीष्ट थियो । अनि समयको सदुपयोग, सत्यवादिता, मितव्ययिता, इमानदारिता, मधुरवचन र दीनदुःखीको सेवा–मुख्य उद्देश्य र जीवनको सार्थकता मानेर राष्ट्रको निम्ति आफूलाई समर्पित गर्ने पिताजी कृष्णप्रसादको जन्मथलो घडेरी क्षेत्र भनिएको ठाउँबाट एक मुठी माटो बोकेर हामी ओरालो झ¥यौँ ।
एक डल्लो माटो तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसादका हातमा पनि राखिदिएको थिएँ । धरेन डाँडाको ओरालो झरिसकेर नेपालथोक बजार आइपुग्यौं । त्यहाँ खाना खाएर केही बेर कुशेश्वर महादेव र रोसीले बनाएको विशाल बगर फाँट हेर्दै विश्राम ग¥यौँ ।
केहीबेर विश्रामपछि माइक्रोबसमा बस्यौँ । अघिल्लो दिन जाँदाका हामी चार जना फर्किँदा तीनजना थियौँ । बालुवाबाट माथि धेरै टाढा देखिने दुम्जा डाँडो देखेर त्यता नजाने सुर कसेका ज्ञानुवाकार हिँडाइको डरले बिहानै काठमाडौं फर्किसकेको थिए । अनि हामी तीनजना चाहिँ कोइराला खानी दुम्जा पुगेर मात्र फर्किने विचारले उकालो चढेका थियौँ । 
विमल भाइ— विमल पौडेल । दुम्जा— कुशेश्वर माविका शिक्षक विश्वनाथ पौडेलका छोरा । काठमाडौँमा बसेर पढ्दैरहेछन्– उनी । विमल भाइले बानेश्वरसम्म साथ दिए । यसरी हामीले यो यात्रा पूरा गरेका थियौँ ।
अर्थात्— धरणीधरको जन्मजयन्ती मनाउन जाने क्रममा पिताजी कृष्णप्रसादको जन्मस्थल पुगेर फर्केका थियौँ ।
धरणीधर र कृष्णप्रसादलाई उनकै थलोमा सम्झँदा धरणीधर र कृष्णप्रसादलाई उनकै थलोमा सम्झँदा Reviewed by Nepalthok on 5:52 AM Rating: 5

No comments:

Powered by Blogger.