श्याम रिमाल
दुम्जा (सिन्धुली), साउन १ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र पुरातत्व विभागका महानिर्देशक भेषराज शर्माले सिन्धुली, रामेछाप र काभ्रेपलाञ्चोकको सङ्गम तीर्थस्थल पर्ने आदिलिङ्ग कुशेश्वर महादेवको बुधबार स्थलगत निरीक्षण गरे ।
प्रशासनिक दृष्टिले हाल कुशेश्वर गाविस– २ र ३, दुम्जाबेंसी फाँट सिन्धुलीमा पर्ने सो क्षेत्र पौराणिक तीर्थस्थल हो जहाँ ब्रह्माले तपस्या गरी सृष्टि गर्न तपस्या गर्दा आदिलिङ्ग उत्पत्ति भएका थिए भने भगवती प्रकट भई शुम्भनिशुम्भलाई वध गरेकी थिइन् भन्ने विश्वास छ ।
काभ्रेपलाञ्चोकस्थित नारायणस्थान, रामेछापस्थित शैलुङ्गेश्वर र सिन्धुलीस्थित महाभारत (त्रिकुटाचल पर्वत)ले घेरिएको कुशेश्वर मन्दिरमाथि दुम्जाडाँडामा नै पिताजी कृष्णप्रसाद कोइरालाको जन्म भएको थियो जो पछि विराटनगर बसाइँ सरेका थिए ।
अठार रोपनीमा फैलिई सुनकोसी नदीको किनारमा अवस्थित ब्रह्मतपस्थली, मार्कण्डेय तपस्थली, विश्वामित्र तपस्थली र दुर्गातीर्थ पनि भनिने सो तीर्थस्थल कोइरालाहरुका इष्टदेवता पनि मानिन्छन् । यो स्थल ‘आदिलिङ्ग देवाय कुशेश्वर नमोनमः’ भनी हिमवत्खण्डमा पनि वर्णित छ । पछि कुशिके ऋषिले तपस्या गरेकाले वा एउटी गाईले कुशैकुशको घारीमा भेटाइएकीले यस स्थलको नाउँ कुशेश्वर रहेको पुजारी वासुदेव गिरीले बताए । त्रिकालपूजा हुने सो मन्दिरका पुजारीमा गिरी र विष्णुप्रसाद नराल थिए ।
यहाँ रहेको शिवलिङ्ग र उमामहेश्वरको मूर्ति लिच्छविकालीन मानिन्छ । मन्दिरको निर्माण भने तनहुँ रम्घाका गोपालदास बाबाले विसं १९९६ मा जग हाली २००५ मा गजुर हालेका थिए । मन्दिरभित्र गणेश, कुमार, लक्ष्मीनारायण र कोइरालाका पुर्खा दामोदर काजीकजिनीको शिला तथा यस क्षेत्रमा गरुड, भैरव, सरस्वती, पञ्चकन्यादेवी, राधाकृष्णको मन्दिर, चौंसठ्ठी महादेव, यज्ञशाला, पाटीसत्तल, भगवतीस्थान र विसं १८०० तिरका दुई शिलालेख पनि पाइन्छन् । भगवतीस्थानमा सुनकोसी नदीमा हालै भेटिएको शङ्ख र गणेश वा शेषनाग आकारका ढुङ्गा पनि राखिएका छन् ।
यहाँ साउन महिना तथा बेलाबखत सप्ताह पनि लगाइने गरेको छ । यसै महिना पनि सप्ताह लगाइने बताइएको छ । हालै कुशेश्वर महादेवस्थान संरक्षण समितिले मन्दिर वरिपरि पर्खाल पनि लगाएको छ ।
गुठी संस्थान र विभागबाट प्राप्त अनुदान तथा मन्दिरमा चढ्ने भेटीबाट मन्दिरको संरक्षण तथा पुजारीहरुको जीवनगुजारा चलेको छ । विभागका महानिर्देशक शर्माले मन्दिरलाई विभागबाट दिइएको अनुदानको हिसाबकिताब दुरुस्त राख्न निर्देशन दिए । पौराणिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिले अति महत्वपूर्णस्थल कुशेश्वरको संरक्षण र विकासका लागि सरकारले ध्यान दिने बताउँदै उनले मन्दिरमा हुने आम्दानी र अनुदानको हिसाबकिताब बुझाउनुपर्ने तथा सो ठाउँलाई राष्ट्रिय सम्पदाका रुपमा परिचित गराउन स्थानीय कुशेश्वर महादेवस्थान संरक्षण समिति सक्रिय हुनुपर्नेमा जोड दिए ।
पुजारी गिरीले आदिलिङ्ग मानिने सो स्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्न सरकारसँग माग गरे । गुठी संस्थानले मन्दिरका लागि वार्षिक रु १२ हजार र विभागबाट बेलाबेलामा अनुदान दिए पनि पुजारीहरुले वार्षिक रु तीन लाख पाउनुपर्ने माग राखी संस्थानमा निवेदन दिएका छन् ।
निरीक्षण टोलीमा भक्तपुर सङ्ग्रहालयका अरुणा नकर्मी र दरबार हेरचाह अड्डाका मङ्गला प्रधान पनि संलग्न थिए ।
आदिलिङ्ग कुशेश्वर महादेवमा मन्त्रालय र विभागको चासो
Reviewed by Nepalthok
on
2:12 AM
Rating:
No comments: