कुशेश्वर महादेव परिसरका उमामहेश्वर मूर्ति ः तेजेश्वरबाबु ग्वंगः शनिवार, फागुन २१, २०७३ 1097 पटक पढिएको










सिन्धुलीको पश्चिमउत्तर कोण दिशा (वायव्य) मा दुम्जा छ । दुम्जा गाउँ बस्ती पहाडी इलाका भएर पनि क्षेत्रफल खोंच बेसीसम्मै फैलिएको छ । कुशेश्वर महादेवपरिसर तिनै खोंच बेसीस्थानमा अवस्थित छ । मन्दिर परिसर पूर्वबाटै कलकलाउँदी सुनकोसी नदी प्रवाहित छ । कुशेश्वर महादेव प्रवाहित रहने सुनकोसी नदी एकीकृत परिसर बनेको छ । अजन्मा शिव/महादेव प्राकृत पुरुष हुन् । प्राकृत पुरुष भन्नु प्रकृतिको गर्भबाट जन्मजात प्राणी भन्ने हुन्छ । त्यसैकारण शिव/महादेव/महेश्वरका मातापिता नभएको धारणा शैव-हिन्दु जगत्मा व्याप्त छ ।
पनौती, काभ्रे जिल्लाबाट प्रवाहमान रोसी खोला सुनकोसीमा मिसिएर बग्छ । सुरम्य सुनकोसी प्रवाहधार छेउमै स्थापित यो महादेवलाई कुशेश्वर नामकरण गरिएको छ । कुशेश्वर शब्दावलीका नाम-संज्ञा दिइनुको पछाडि केही न केही अवधारणात्मक रहस्य अन्तरनिहित छ । यसको रहस्य प्रकृति र पर्यावरणसित सटिक र सम्बद्ध छ । प्रकृति शाश्वत सत्य बनेको छ । शाश्वत सत्य सदाबहार रहन्छ । सदाबहार रहनुको तात्पर्य निरन्तर हुनुसित छ । निरन्तर रहनुको सही बुझाइ ठीकठीक अवधिमा हुनुपर्ने अवस्थाजन्य परिवर्तनसितै अगाडि सर्दै गर्नु, रहनु हो । यसो हुन, गर्न सक्दा हामी, हाम्रा सोच र धारणाका गति चलायमान रहन्छ ।
यी गतिहरू पर्यावरण अनुकूल हुँदै गर्छ । पर्यावरण स्थान, समय र वस्तुतत्ववको आधारमा निर्मित हुन्छन् । स्थानले संसारका गोलाद्र्धका नदी, सागर र महासागरका अवस्थितिले प्रभावित क्षेत्रका माटो, उचाइ, खोंच, हिमाल सबैलाई ओगट्छ । समयले गोलाद्र्धहरूका स्थानका दूरी, उचाइ, होचाइ, आदिलाई समेट्छ । वस्तुतत्ववले स्थान र समयगत रूपमा बनेका मूर्तरूप, आकृतिमा बने, बनाइएका यावत् पदार्थलाई अथ्र्याउँछ, बुझाउँछ ।
कुश प्राकृत जडीबुटी जन्य हरित पदार्थ रहेको छ । यो वैदिककालदेखि नै पवित्र वस्तुतत्ववको रूपमा संग्रहित छ । कुशुलाई नितान्त पवित्र, पावन प्राकृत वस्तु मानिँदै आएको छ । सम्भवतः यसको संसर्गले कुनै पनि खाद्यवस्तुका परिकारमा विकार पर्न नदिन सक्ने कुनै रासायनिक तत्वव अन्तरनिहित छ । रसायनशास्त्रका अध्ययेता, वैज्ञानिकहरूले यसको रासायनिक परीक्षण प्रयोगशालामा गर्न सक्दा सत्यतत्वव उपादेय बन्छ होला । कुशलाई चिन्तन विज्ञानमा अग्रगामी रहेकालाई कुशाग्र व्यक्ति भनिने गरिएको छ, समाजमा । सम्भवतः महादेव/शिवलाई पनि कुशेश्वर नामांकन गरिएको हुनुपर्छ, हुन सक्छ । आखिर भारतीय महाद्वीपको प्रथम आदिम पुरुष भएर पनि उदार चिन्तनशील व्यक्तित्वव बनेका थिए । प्राकृतिक पर्यावरणको प्रभाव क्षेत्रमा स्थापित महेश्वरको नामकरण त्यसैले कुशेश्वर राखिए !
लिच्छविकालीन अंशुवर्मा, मानदेवहरूका शासनकालमा प्रतिस्थापित लोकधारणा कुशेम्वर महादेवसित छ । ऐतिहासिकतामा जेसुकै भए पनि शिवलिंगका आकारप्रकार निकै लामो रहेको बुझिएको छ । शिवलिंग अहिले सिधा ठडिएको देखिन्न । अलि ढल्किएर कोल्टिएको देख्न सकिन्छ । शिवमात्र विशुद्ध हिन्दु शिवमार्गीका नै आराध्यदेव रहेका छैनन् । शैवमत हिन्दु मतावलम्बी इतर जनपक्षीयका पनि कुलदेवता घरानमा परे, रहेका छन् । शिव किराँतेश्वर पनि हुन्- किराँतवंशी नेपाली समुदायका । किराँतवंशी आदिम नेपालीका शिव आराध्य बनेका छन् । त्यसैले शिवको अर्को नाम रूप किराँतेश्वर रहेका छन् ।
किराँतीले शिवलाई किराँतेश्वर नामले आराधना गर्नु अन्यथा हुन्न । कुनै पनि आस्थावान् समुदाय, सम्प्रदायले आराधना गर्न आराध्य मानी मत सुहाउँदो नामकरण गरी सम्बोधन गर्नु चिन्तन चेतको उपज बन्छ र हुन् पनि । किराँती बन्धुहरू पनि नेपाल राष्ट्रका आदिम नेपाली रहेकाले शिवलाई स्वच्छन्द तवरले किराँतेश्वर भनिनु स्वाभाविक बनेको छ । यस निमित्त स्वाभाविक कि मनुष्यका अन्तरमनका चाहना-मनोविज्ञान सदैव स्वमुखी र आत्मपरक आस्थामुखी हुन्छन् । यस मनोवैज्ञानिक चिन्तन चेतलाई प्रत्येक व्यक्ति, समुदाय साथै कुनै पनि समूह, सम्प्रदायले त्यस्तै गरी आएका उदाहरण छन् । वैष्णव, कृष्णप्रणामी, जैन, बौद्ध, इसाई, यहुदी, आदि इत्यादिले पनि त्यस्तै गरिआएका छन् । किराँतेश्वर महादेव आदिम पुरुष भएकाले यिनीप्रतिको धारणा अनेक हुनु, रहनु युग धर्म र आस्थाका परिचायक बन्छ, बनेको छ ।
भूगोलको मध्यएसियामा सभ्यताको आरम्भिक उदय बेबिलोनियाको मेसिसिपी नदीकिनारमा भएको थियो । विश्व इतिहासको विकास सभ्यता अध्ययन क्रममा सिकेथेँ । त्यो क्रमको डोब मातृभूमि-नेपालको सभ्यताको सुरुवातका क्रम बनेका रोसी-कोसी (सुनकोसी) नदीको किनारमा स्थापित कुशेश्वर महादेवको शिवलिंग दर्शनमा देखेँ, भेट्टाएँ । पञ्चतत्वव युक्त जीवनधारी यावत् सजीव स्थावर जंगम आदि प्राणीमात्रकै लागि तिनै तत्ववहरू निरन्तर सन्तुलित रूपमा अनिवार्य, अपरिहार्य रहेको छ । पवन, किरण, आकाश (इथर), भूमि/माटो त सर्वत्र छन् । पानी पनि पृथ्वीको सबैतिर छ ।
परन्तु, सभ्यताको उदयकालमा मनुष्य जीवनले नदीकिनार नै चुने, चुमे । सभ्यताका क्रमसितै मनुष्यले संस्कारलाई समृद्ध गर्दै ल्याए- जीवन संस्कार । फलस्वरूप मानव संस्कृतिलाई चुल्याउँदै लगे । त्यसकै क्रममा अहिले कुशेश्वर महादेवको शिवलिंग परिसर बनेको दुम्जाको रोसी-कोसी-सुनकोशीको प्रसंग प्रासांगिक बन्न आएको छ । सभ्यताकै क्रमबद्ध विकाससित प्रतिपादित धर्म आस्थामा बेरिएको सांस्कृतिक कुशेश्वर शिवलिंग निकै लामो शिलास्तम्भ रहे, गडेको ज्ञातव्य छ ।
कुशेश्वर महादेवको शिवलिंगको चारैतिर ५० फिट गहिराइसम्म उत्खनन गर्दा पनि फेद नभेटिएको बखान दिवंगत पुजारी गोपाल बाबाबाट ज्ञात गरेको भक्तपुर निवासी सुरेशबहादुर धौबन्जारको वर्णन सुनेँ । उनै दिवंगत गोपाल बाबाको कथनअनुसार कुशेश्वर महादेवको जलधरी पछि कुँदी निर्माण गरी शिवलिंगको शिरभाग टुप्पोबाट पगरीझैं स्वात्त पसाली मिलाएको कथन पनि सुरेशबहादुर धौबन्जारबाटै बुझेँ ।
कुशेश्वर महादेव मन्दिरवरिपरि चारैतिर ने.सं. ७९६ मा रणसिद्धि मल्लले पर्खाल लगाई सुरभित पारेको नेपाल भाषाका सरलतम लिपिमा कुँदिएको शिलापत्रबाट अवगत गर्न सकिने तथ्य डा. पुरुषोत्तमलोचन श्रेष्ठका ‘कुशेश्वर महादेवस्थानका अभिलेख’ लेखमा छ । ठीक तिनै पर्खाल बाहिर दक्षिणतिर सुन्दर शिल्पकारितापूर्ण उमामहेश्वर मूर्ति छ । यो मूर्ति आकर्षक छ । शिल्प साधना भएको छ । शिल्प साधनाले नै कलाकृतिहरू सुन्दर, हृदयाकर्षक बन्छ । शिल्प साधनामा कुनै पनि मूर्तिकलाका आकृतिले संयमित रेखा गणितीय कोण, लम्बाइ, चौडाइ, गहिराइ, उचाइ आदि अनुपात ठीक, दुरुस्त मिलाइएको हुन्छ । यिनै ठीक दुरुस्त कुँदाइलाई हामी शिल्प साधनायुक्त कलाशिल्प, कलाकारिता भन्ने गर्छौं । उमामहेश्वरको शिल्पसाधना युक्त कारीगरी यहाँ प्रस्तुत छः

उमामहेश्वर मूर्ति

बाघासन - बाघको छाला आसनमाथि उमामहेश्वरलाई बसालिएको छ । झन्डै दुई हजार वर्ष पहिलेको यस कलासाधना नेपाली शिलाकारिता उचाइ, गहिराइ, मोटाइका कोणबाट स्तुत्य रहेको छ । जहाँ स्तुत्य कारिगरी प्रदर्शित छ, त्यहाँ कलासाधना युगकै महिमा गायन बन्छ । जहाँ स्तुत्य कला गायन छन्, त्यहाँ राष्ट्रकै गौरव गाथा बन्छ । लिच्छविकालीन यो उमामहेश्वरको कारिगरीपूर्ण शिल्पले भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको भग्न उमामहेश्वरको मूर्तिलाई सम्झाउँछ । लिच्छविकालीन मूर्तिकला साधनामा मूर्तिका आकृति गोलगोल मंगोल अनुरूपको नभई आर्य आकृति लाम्चिला हुन्छन् ।

वैयक्तिक प्रयासमा राष्ट्रिय सांस्कृतिक सम्पदा जगेर्ना गर्ने चेतका धनीहरूलाई राष्ट्रका सरोकारी सरकारी, गैरसरकारी निकायले सम्मानपत्र र टीकोटालो लगाई उत्साही राख्न सकून् ! यसबाट निजी क्षेत्रमा हौसला बढ्न गई अरू योगदान जन्मनेछन् ।
मंगोल आकृति गोलगोल गोलाकार हुन्छन् । लाम्चिला आकृतिमा कुँदिएका शिलाकारिगरीका अंगप्रत्यंगहरू पनि लामै बनाइएका हुन्छन् र छन् । शिलाकारिगरिताले सिंगै युग बोकेको हुन्छ । कलाकारितामा युग बोल्छ, बाँच्छ । शिल्पसाधना सहीसलामत तवरले गरिँदा युगस्तम्भको काम गर्छ । युग स्तम्भहरू प्रत्यक्ष दर्शन गर्न सकिने मूर्त कलाकृतिका बेजोड नमुना, उदाहरण बन्छन् युगबोधका ! किन्तु मूर्त कलाकृतिमा प्रयुक्त कतिपय सीप-शैली विज्ञान भने व्याख्यान पर्खिरहेका हुन्छन् । व्याख्या, विश्लेषणीय कला शिल्प-शैली विज्ञानका पक्षहरू अमूर्त कला-संस्कृतिजन्य वस्तु भावधारणा बनेका हुन्छन् । सिन्धुली जिल्लाको दक्षिणपश्छिम इलाकास्थित दुम्जा गाउँ बस्तीको सुनकोसी जलप्रवाहतिरका पश्चिमवर्ती कुशेश्वर महादेव परिसरको उमामहेश्वर मूर्ति दर्शनबाट आर्जेको अनुभूति प्रिय पाठकवृन्दमा सादर उपहार मेरो !
उमामहेश्वरका यस्ता दुर्लभ, संरक्षणीय शिल्पसाधनायुक्त राष्ट्रका गौरवगाथा गाइरहेका कलासाधना राखिएको मन्दिर २०७२ वैशाख १२, १३ र २९ का भूकम्पले धराशायी बनाएको छ । उमामहेश्वर मूर्ति संरक्षणको प्रतीक्षामा रहेको थियो । राजधानी उपत्यकाका त्यत्रो वैभवशाली कला-शिल्प-साधनायुक्त मन्दिर, मठ, स्तूपहरू सम्भार निमित्त अन्तर्राष्ट्रिय सहयोग, सहायतामा मनमस्तिष्क र आँखा बिछ्याइरहेको नेपालको दृष्टि दुम्जाको सुनकोसी खोंचसम्म पुग्न नसक्नु अनौठो लागोइन । एकजना शिवभक्तको आँखा त्यस उमामहेश्वर मूर्ति पछारिएर रहेको कहालिलाग्दो दृश्यमा परेको रहेछ । उनले मनमनै आफैंसित भनेछन्- ‘धराशायी मन्दिरलाई पुनर्निर्माण म गर्न सकूँ ! भक्तपुरका सिकर्मी, डकर्मी टोलीसाथ पुग्छन् कुशेश्वर परिसर । उनीहरूका परामर्शमा मन्दिर पुनर्निर्माणको क्रम अगाडि बढ्छ ।
भक्तपुरबाट इँटाहरू ओसारिन्छन्, ट्रिपका ट्रिप । अवाल-डकर्मीका दफा जमात कुशेश्वर लगिन्छन् । उहीँ बसालिन्छन् उनीहरूलाई खानेबस्ने सुविधा साथ । धर्म भाकेर उनीहरू तल्लीन रहेका हुन्छन् । उता सिकर्मीहरू काष्ठकारितामा तल्लीन रहेका हुन्छन् । काठका निडाल, दलिन, ढोका, आँखीझ्याल प्रत्येक दिशाका भित्ताहरूमा जडान हुन्छन् । झिँगटीका छाना, गजुर, प्रतिस्थापन गरिन्छन् । उमामहेश्वरको भव्यमूर्ति पुनर्निर्मित मन्दिरको मध्यभागमा पुनप्र्रतिष्ठा हुन्छन् । कुशेश्वर महादेव, उमामहेश्वर अनि त्यही परिसरका पश्चिमी आँगनमा स्थापना भए गरिएका शिवलिंगहरूका लागि पनि एकसाथ दीपप्रज्वलन गर्न सकिने देवा/दीप बाल्ने तह तहयुक्त दीपदानी त्यही परिसरमा जडान हुन्छ । यी सबै परिस्थिति जुराएर कुशेश्वर महादेव परिसरका उमामहेश्वर मन्दिर आफ्नै परम्परागत पारामा पूजाआजा पछि सम्हेबजी प्रसाद जलपान साथ सम्पन्न हुन्छ- २०७३ फागुन ४ गते ! यस क्रमका अगुवा-दाता रहेका छन्- सुरेशबहादुर धौबन्जार भक्तपुरे । उनले त्यहाँ एक सिंहमरमरका स्मृति स्मारिका पनि प्रतिस्थापन गरेको देख्न सकिन्छ ।
यो शिलापत्रले पहिलो झुल्कैमा दर्शकलाई आफ्नै डम्फु बजाए जस्तो लाग्नु स्वाभाविक छ । त्यसो लाग्नुको पछाडि हाम्रै परिस्थिति र परिवेशको प्रभाव न छ । भए गरिएका सराह्रनीय साना ठूला, सांस्कृतिक आदि कार्यको सराहना गर्ने मनोवृत्ति विकसित गर्नुपर्ने सकारात्मक प्रवृत्ति बन्छ । तर, सबैको प्रवृत्ति त्यसो हुँदैन । लाग्छ, यस्ता शिलापत्र आदिले सकारात्मक सोच उजागर गर्न अनुकूल भूमिका निर्वाह गर्दछ । कतिपय अवस्थामा आगन्तुक भक्तजनका मनमा आ-आफ्ना स्थान-परिसरका सांस्कृतिक सम्पदा संरक्षणप्रति दिलचस्पी उजागर गर्न ठूलो असर पार्न सक्छ ! - सकारात्मक सोचका मनोविज्ञान यो । सानो कुराले पनि ठूलै तरंग मच्चाउन मौन अव्यक्त असर पैदा गर्न सक्दा राष्ट्रका निमित्त सकारात्मक योगदान पुग्न जान्छ ।
सबै कुरा राष्ट्र र सरकारले मात्र होइन देशका सच्चा नागरिकले पनि गर्न सक्छन् । कुशेश्वर महादेव परिसरको उमामहेश्वर मूर्ति र मन्दिर पुनस्र्थापन व्यक्तिगत हैसियतमा भएर प्रकारान्तरले राष्ट्रको सांस्कृतिक-पुरातात्विवक कार्यमा मौन तर प्रत्यक्ष योगदान पुगेको छ । संस्कृति मन्त्रालय, पुरातत्वव विभागसाथै पुरातात्विवक सांस्कृतिक सम्पदाका हिमायती-मर्मज्ञको सकारात्मक दृष्टि पुग्नु अनिवार्य नभए पनि वाञ्छनीय छ । यस निमित्त कि अवलोकन भ्रमणले प्रत्यक्ष दर्शन गराउँछ सम्पन्न कार्य सम्पादनको । प्रत्यक्ष दर्शनबाट उनीहरूमा पनि अलिकति सकारात्मक सोच पलाउनेछ । वैयक्तिक प्रयासमा राष्ट्रिय सांस्कृतिक सम्पदा जगेर्ना गर्ने चेतका धनीहरूलाई राष्ट्रका सरोकारी सरकारी, गैरसरकारी निकायले सम्मानपत्र र टीकोटालो लगाई उत्साही राख्न सकून् ! यसबाट निजी क्षेत्रमा हौसला बढ्न गई अरू योगदान जन्मनेछन् । राष्ट्रको प्रमुख दायित्वव सकारात्मक सोचविचार र योगदानमुखी वातावरण सिर्जना गर्नु हो !
उमामहेश्वरको शिला मूर्तिका मूर्तिमय अभिव्यञ्जना मन्त्रमय मुद्रामा अंकित छ । मन्त्रमय मुद्रा बाघासन धारी छ । उनका चार हात चार दिशाका प्रतीक बन्छन् । दाहिने दुई हातमध्ये एकले रुद्राक्षमाला जपेको छ । रुद्राक्षमाला धारण गर्नाको रहस्य एकाग्रताको जपतपको अर्थबोधक बन्छ । एकाग्रता भन्नु मन शान्तिको उपासना सूचक बन्छ । अर्को दाहिने हातले अभय मुद्रा धारण गरेको छ । शान्तिले अभय दिन्छ । अभय भन्नु कतैबाट कुनै संकट नलाग्ने स्थिति जन्माउनु हो । हामी र हाम्रो समय परिवेश अशान्त र भयभीत छ । भय छ । भ्रान्ति छ । हामी एकाग्र छैनौं ।
यो राम्रो कि त्यो राम्रो रणभुल्ल परिस्थिति ! शिवको शान्त, एकाग्र, अभय ध्यान हामीमा निसृत हुनु आवश्यक छ । बायाँ एक हातले त्रिशूल यन्त्र धारण गरेको छ । त्रिशूल एक हातमा शंखनादका ध्वनि यन्त्र छ । शंखनादका ध्वनि सार्वजनिक सन्देशसूचक प्रथम सञ्चार यन्त्र हो । सम्भवतः तिनै शंखनाद ध्वनि शिवका कल्याणमय सन्देश-मन्त्र घन्किएथ्यो । बायाँहातले उमाको कोमल कम्मरमा आलिंगन गर्दो छ । यो अंकमाल मुद्रा जीवन-यौवनका उमंग परिभाषक बन्छ । केवल शिवका लागि मात्र होइन; अपितु शिवका शैव्य चिन्तक यावत् तपाईं, हामी, सबैका लागि पनि उत्तिकै सदाबहार ! यो व्याख्यानलाई बढी सार्थकता शिवले आफ्ना बायाँ काखमा उमालाई उमंगित तरनासाथ आसीन राखेको मुद्रामय आसनले तरंग्याउँछ !
यत्रो महिमामय उमामहेश्वर मूर्तिका तलमाथि अनेक मुद्रामय स-साना अनेक मूर्तिहरू अंकित देखिन्छन् । माथिल्लो स्थानमा दुई शिवका उपासक ऋषिमुनि, दुई चंवर पंखधारी, दुई शिवकै मूर्ति, शिव शिरमाथि दायाँतिर स्वरगंगा जलधार बर्साइ अघ्र्य चढाएकी, अनि दायाँतिर शिवका वाहन साँढे, बगलैमा तिनको मयूरवाहिनी कुमार, उमाका पाउ समाएकी नारी अंकित छन् । शिव-महेश्वरको आसनमुनिका स्थानमा उमा पुत्र गणेश, मृदङवादक एकजोडी भुछ्याय् बाजावादक एक र नर्तक या नर्तकी एक नृत्य मुद्रामा अभिनीत छ । एउटै शिलामा यति धेरै महिमापूर्ण गाथा भरेको यो शिला शिल्प नितान्त स्तुत्य सराहना योग्य छ ।
उमा + महेश्वरको यो कला साधकको नाम त्यसमा कुँदिएको छैन । कलाकारको योगदान कति निस्वार्थ र अहम्कारमुक्त छ । यसबाट सिकिरहेछु । उमा पार्वतीको एक मानुष अवस्था जन्य नाम हो । उमा नै पार्वती हुन् । पार्वती नै उमा हुन् । पार्वती पर्वतपुत्री सूचक नाम-संज्ञा ! उमा उमंगपूर्ण जीवन-यौवन जन्य अवस्था । उमा उमंगको पर्याय । उमंग उमाको पर्याय ! महादेव-महेश्वरको उमंग उन्मत्त भैरव आकृतिमा प्रतिविम्बित हुन्छ । उमाको उन्माद महेश्वरको काखासनमा आलिकिंत मुद्रामा मुखरित हुन्छ ।

धन्य उमामहेश्वरको मुद्रामय मूर्ति !!!

उमामहेश्वर मूर्ति निपुण कारिगरिताकै प्रतिमूर्ति बनेको छ । झन्डै दुई हजार वर्ष प्राचीन अनाम मूर्तिकारका शिल्पसाधनाले वर्तमानलाई पनि उत्तिकै गौरवान्वित बनाएको छ । यति दीर्घकालजयी कलाकृति सितका महेश्वरको आकृति म्लान/यौन उमंगले तरंगित कृपाकटाक्षमय आभास हुन्छ । ती अर्ध निमिलित आँखाहरू मदोन्मत्त अवस्था सूचक छन् ! काखमा पार्वती/उमादेवीलाई बसालेर कम्मरमा बायाँ हातले आलिंगन मुद्राले महेश्वरको आधा खोलिएका अर्ध निमिलित नयनका मौन अभिव्यञ्जना उन्मादले भरेको अवस्था सूचक छन् । परन्तु, उमाका पिँडौलादेखि घुँडासम्मै चर्केमर्केका देखिन्छन् । मन्दिर पुनर्निर्माण सँगसँगै सुरेशबहादुर धौबन्जारले तिनमा आधुनिक प्रविधिका एमेसिल लेपन गरी सम्भार गरे, गराएका छन् । त्यसपछि तोरीको तेल दली चम्किलो पारेका रहेछन् । उनकै कथनबाट मनग्य जानकारी पाएँ ।
उमामहेश्वर मूर्ति पछाडि एउटा सेतो गोलगोल ढुंगा राखिएको रहेछ । त्यस ढुंगामा कम्मर दुख्नेले घिस्रिँदा कम्मर दुखाइ निको हुने लोक धारणा छ । यो परम्परागत लोक सोचाइ हो । तर यसमा शरीर विज्ञानका सम्मति लुकेको छ । त्यस चिल्लो, गोलढुंगामा कम्मर घिस्रिनु त एक किसिमको योगाभ्यास हो, मसाज हो, थेरापी नै हो । मूर्ति पछाडिको यो गोलढुंगा अहिले पुनर्निर्माण भएको मन्दिरको गारोबीच दुई इन्च जति गारोभन्दा बाहिरिएको अवस्थामा छ । यसले कम्मर दल्नुपर्ने अवस्थाका इच्छुकहरूलाई क्रमबद्ध लाम लागेर घिस्रिने स्थिति सिर्जना भएको छ । आफ्ना जन्मदाता मातापिताका स्मृति सम्झनामा श्रद्धाञ्जलि स्वरूप उमामहेश्वर मन्दिर पुनर्निर्माण गरिएको छ । त्यहाँ राखिएको सिंहमरमरको शिलापत्रले मातापिताप्रतिको श्रद्धाञ्जलिका साथै आफ्ना सन्ततिप्रतिको स्नेहसरिता भाव जनाउँछ ।
http://www.annapurnapost.com/news/65768
कुशेश्वर महादेव परिसरका उमामहेश्वर मूर्ति ः तेजेश्वरबाबु ग्वंगः शनिवार, फागुन २१, २०७३ 1097 पटक पढिएको कुशेश्वर महादेव परिसरका उमामहेश्वर मूर्ति ः तेजेश्वरबाबु ग्वंगः शनिवार, फागुन २१, २०७३ 1097 पटक पढिएको Reviewed by Nepalthok on 10:47 AM Rating: 5

No comments:

Powered by Blogger.