प्रसिद्ध कुशेश्वर महादेव मन्दिर :धार्मिक पर्यटकको गन्तव्य

रामेछाप, काभे, सिन्धुली जिल्लाको संगमस्थल दुम्जा फाँट परिसरमा प्रसिद्ध कुशेश्वर महादेवको मन्दिर अवस्थित छ । जहाँ शिवलिङ्ग स्थापना गरिएको छ । सिन्धुली सदरमुकामबाट २४ कि.मी. पश्चिमोत्तर वा काठमाडौंबाट ८३ कि.मि. (१८ कोष) पूर्वतर्फको दुरीमा पर्ने यो स्थल बौद्धिक सनातन आर्यवाङ्मयको ग्रन्थ अनुसार अत्यन्त दर्शनीय तपोभूमि स्थान हो । यस भूमिमा अवस्थित ६४ शिवलिङ्ग मध्ये सर्वश्रेष्ठ आदिलिङ्ग कुशेश्वर महादेवलाई मानिन्छ ।

kusheshwor_1
सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गा.वि.स. मा अवस्थित नेपालथोक उपत्यका आदिलिङ्ग कुशेश्वर महादेव, दुर्गाघाट, विश्वमित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा, प्रसिद्ध खैरेनीघाट, गजुलीदह लगायत मनोरम स्थलहरु रहेका छन् । सुवर्णकौशिकी (सूनकोशी), रोशी खोला संगमस्थल (दुर्गातीर्थ), दुम्जावेंसीस्थित महादेव कुशेश्वरको महिमा हिमवत खण्डमा वर्णित छ । जसअनुसार ब्रह्माले विश्व सृष्टिका निमित्त तपस्या गर्दा उत्पन्न लिङ्ग नै आदि लिङ्ग हो । वर्णन अनुसार कुशिक ऋषिलाई संस्थापक मानिएको छ । कुशेश्वरको पहिलो स्थापना कुशध्वजले गरेका थिए । यिनै किम्वदन्ती अनुसार नै कुशेश्वर महादेव नाम रहेको देखिन्छ । कौशिकले थापेर पुजन गरेका परमेश्वरको नाम कौशिकेश्वरबाट (कुशेश्वर) रहन गयो भनिन्छ ।
आदि कालमा शुम्भ निशुम्भ नामक दैत्यहरुले कौशिकी सूनकोशीको स्नान गरी कैलाशपति शिवको पुजा आराधना, जपतप गर्दा महाशक्ति रुद्र प्रशन्न भई स्त्रीजाति बाहेक कसैले पनि तिमीहरुलाई मार्न नसकुन् भन्ने बरदान पाएका थिए ।यस पावन भूमिमा सत्य, त्रेता, द्वापर युग सम्ममा ज्ञानी, ध्यानी, ऋषिमुनी, राजर्षि–महर्षी, ब्रह्मर्षि, देवर्षि आदिले तपस्या गरेर नै ठूलो फल प्राप्त गरेका थिए । कलियुगमा पनि विभिन्न ज्ञानी, ध्यानी, ऋषि, साधुसन्तहरुले पुजा, आराधना, उपासना, ध्यान गर्दै आएको र शुभ फल पाईरहेको बताईन्छ ।
दैत्यहरुबाट पराजित देवताहरु ब्रह्माजीको सल्लाह अनुसार यसै स्थानको खोला किनारमा कुशेश्वर महादेवको तपस्या गर्दा सफलता प्राप्त गरेका थिए । कुशेश्वर महादेवलाई मध्यक्षेत्र काठमाडौंका पशुपतिनाथ पनि भनिन्छ । हलेशी महादेवलाई पूर्वका पशुपतिनाथ भनिन्छ भने नेपालगञ्जका जुंगे महादेवलाई पश्चिमका महादेव पशुपतिनाथ भन्ने गरिएको छ । प्राचीन प्राकृतिक शिवलिङ्ग कुशेश्वर गुम्वज शैलीको छ । मन्दिरको गजुरमा सूनको मोलम्वा लगाइएको छ । जहाँ गणेश, नारायण आदिका मूर्तिहरु छन् । दुर्गातीर्थमा स्नान गरी कुशेश्वरनाथको दर्शन, पुजन, हवन गरेमा वा पितृहरुको श्राद्ध गरे पुस्तौँदेखिको सबै पापबाट मुक्ति पाइन्छ भनीएको छ साथै कुष्टरोग निको हुने, सुख–शान्ति मिल्ने धारणा रहेको छ ।
kushwor_2

नेपाल सम्वत् ८९१ मा भक्तपुरे राजा जगज्जय मल्लले कुशेश्वरको भक्तिभावले राज्य सिंहासन नै प्राप्त भएको बताइन्छ । राजा भएपछि उनले महादेव मन्दिरमा नित्य पुजा चलाउन दण्डीबाबा मार्फत् झाँगाझोली खहरेको ५६० मुरी फल्ने धान खेत र फलफुल बगैंचा बारीको व्यवस्था गरेका थिए । उनले झांगा झोली सन्यासी गाउँको पाखो बारी समेत गुठी राखी ताम्रपत्र गरिदिई सो बमोजिमको कमाईबाट नित्य पुजा चलाउन गिरि खानदान परिवारलाई जिम्मा लाएको इतिहास छ । उचित स्याहारको अभावमा सो गुठी जग्गामा पैले जति धान फल्न छाड्यो भने कति त जग्गा गिरि वा अन्य परिवारले आफ्नै नाममा दर्ता गरे । सूनकोशीको नदी कटानले पनि खेती बाँझो भई कूत नतिर्नाले गुठी खेतको आम्दानी थोरै मात्र देवस्थलमा जाने गरेको छ । यता कुशेश्वर महादेव संरक्षण समिति खडा भई यसले तीर्थस्थल आयव्यय व्यवस्थापन गरिरहेको छ । 
kushwor temple

वि.सं. १९९६ मा श्री १०८ परमहंस वावा गोपालदास त्यहाँ तीर्थाटन गर्दै कुशेश्वर पुग्दा अलपत्र, बेवारिसे अवस्थामा रहेको झाँगाझेलीको गुठी सुधार गरी दुम्जामा नै ६० मुरी खेत आयस्ता हुने व्यवस्था गरेका थिए । वहाँले मन्दिर जिर्णोद्वार, यज्ञशाला निर्माण, बगैचा निर्माण, पुजारीको व्यवस्था गराएका थिए ।
भक्तपुरका मल्ल राजाले ढुङ्गाको खम्बामाथि ढुङ्गाकै बसाहा राखी कुशेश्वर महादेवमा चढाएका थिए । चाँदीको मुकुट र गहना पनि चढाए । वि.सं. १८३६ मा श्री ५ राजेन्द्र लक्ष्मीदेवी शाहले श्री कुशेश्वरनाथमा दुम्जेश्वरी अंकित चाँदीको बेलपत्र, धतुरा पुण्यको माला चढाएको कुरा शिलालेखमा देखिन्छ । सदियौँ वर्ष अघिदेखि बसोबास गरिरहेका दुम्जाका नेवार डंगोल (दगु) को कूलदेवता कुशेश्वर महादेव नै भएकाले यो तीर्थस्थल निकै पुरानो मानिन्छ ।
राजा महेन्द्र मल्लको पालामा दुम्जाबाट डंगोललाई झिकाई पशुपतिनाथ र अन्य स्थानमा गुठीको जग्गा नाप्न, लेखाजोखा गर्ने काम लगाएपछि उनीहरुलाई डंगोल भन्ने गरिएको हो । जस्ले टेकुमा कुशेश्वर महादेव मन्दिर स्थापना गरेका थिए । कुशेश्वर महादेव (दुम्जा) संरक्षण क्षेत्र विकाशको निम्ति केही वर्ष अघि एक गुरुयोजना पनि बनाएको पाइन्छ ।निर्माणाधिन बनेपा–सिन्धुली–बर्दिवास वि.पी. राजमार्ग यहि पवित्र धाम हुँदै गएकाले बाह्य वा आन्तरिक पर्यटकहरु घुम्न र अध्ययनको निम्ति आउजाउमा सहज हुँदैछ । दोलालघाटबाट सूनकोशीको जलयात्राको आनन्द लिँदै यहाँ पुग्न पनि सकिन्छ । बस्नखानको निम्ति हाल होटल, लजको सुविधाहरु हुँदैछन् । यहाँ महाशिवरात्री, बालाचतुर्दशी, तीज, रामनवमी, ठूली एकादशी, कृष्णाष्टमी लगायत पर्वमा भक्तजनहरुको ठूलो मेला लाग्ने गरेको छ ।
http://bishalnepal.com
प्रसिद्ध कुशेश्वर महादेव मन्दिर :धार्मिक पर्यटकको गन्तव्य प्रसिद्ध कुशेश्वर महादेव मन्दिर :धार्मिक पर्यटकको गन्तव्य Reviewed by Nepalthok on 10:59 AM Rating: 5

No comments:

Powered by Blogger.